काठमाडौँ, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार प्रतिनिधिसभाको विशेष समयमा देश र जनताका हितसँग सम्बन्धित केही विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो । ध्यानाकर्षणको क्रममा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार–सं)
विद्यालय शिक्षालाई उत्पादन श्रमसँग जोड्न, शिक्षक–शिक्षिकाहरूलाई विद्यालय शिक्षा नतिजामा जवाफदेही बनाउन, विद्यार्थीहरूलाई अध्ययनमा अनुशासित र लगनशील बनाउन, सरकारलाई विद्यालय शिक्षामा जिम्मेवार बनाउन र राष्ट्रियस्तरको एसईई परीक्षा यथावत राख्नु जरूरी छ ।
अहिले सूचना र प्रविधिको समय हो । नयाँ समाज बनाउन नयाँ पुस्ताका आर्किटेक्टहरू जरूरी हुन्छ । शरद् पछि वसन्त ऋतु आउनु प्राकृतिक नियम हो । सरकारले युवा पुस्तालाई घरखेत बेचाएर ऋण बोकाएर वैदेशिक रोजगारीमा पठाउने होइन, नेपालमा रोजगारी दिएर देशको विकास गर्ने हो ।
आफ्नो पदअनुसार जिम्मेवारी बहन गर्न नसक्ने निजामती कर्मचारी वा शिक्षक वा कुनै क्षेत्रमा संलग्न भएकाहरूलाई स–सम्मान अवकाशमा पठाउनु देश र जनताको हितमा हुनेछ । युगअनुसार कञ्चन समयलाई पर्खनु वा सुखद भविष्यको निर्माण गर्नु भनेको यही हो ।
भूगर्भ अध्ययन गरेकाहरूले झापाका भद्रपुर, धरान, विराटनगर, सिन्धुली, जनकपुरधाम, वर्दिवास, जलेश्वर, वीरगञ्ज, हेटौँडा, काठमाडौँ उपत्यका, नुवाकोट, भरतपुर, पोखरा, दमौली, बुटवल, भैरहवा, तुल्सीपुर, नेपालगञ्ज, गुलरिया, सुर्खेत, टीकापुर, धनगढी, महेन्द्रनगरका जमिनमा एकाएक आफै प्वाल पर्ने सिङ्कहोलको खतरा भएको औँल्याउनुभएको छ । यी ठाउँमा जमिनमा केही संरचना बनाउँदा झन् जोखिम हुने भूगर्भ अध्येताहरूको मत रहेको छ ।
अध्ययनबिना भासिएका क्षेत्रमा जान पनि नहुने, संरचना निर्माण त गर्नैै नहुने भूगर्भविद्हरूको मत छ । तर, कतिपय स्थानीय तहले विभागको सुझावलाई कार्यान्वयन नगरेको भूगर्भ अध्येताहरूको मत रहेको छ । वैशाख १९ गते मकवानपुरको हेटौँडा गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिनमा भासिएर हराएको कारण सिङ्कहोल नै हो कि ?
काठमाडौँ उपत्यकामा पूर्वाधार, घर–भवनको निर्माणको लागि दिनको २५–३० हजार टिपर बालुवा, डन्डी–सिमेन्ट, गिटी–ढुङ्गा, काठ ओसारिँदै छ । यहाँको जमिनले योे भार थेग्न नसक्ने र कुनै पनि बेला जमिन भासिने खतरा छ । के काठमाडौँ उपत्यकावासी एक चिहान भइसकेपछि मात्र प्रधानमन्त्री र मन्त्रीहरूको आँखा खुल्ने हो र ?
सरकारले आ.व. २०६५÷६६ देखि जनतासँग प्रदूषण शुल्क उठाएको कुल रकम २२ अर्ब २२ लाख पुग्यो । तर, यो रकम खर्च नगर्दा काठमाडौँ उपत्यका विश्वमै सर्वाधिक प्रदूषित सूचीमा परेको छ । काठमाडौँ उपत्यकाको हावामा धुलोको मात्रा खतराको स्तर पार गरिसकेको जानकारहरू औँल्याउँछन् । वाग्मती, विष्णुमती, मनोहरा, बल्खु, नक्खुलगायत १८ वटा नदी प्लास्टिक तथा फोहर ढलले छोपिएका छन् । काठमाडौँ उपत्यकामा फोहरमैलाको वैज्ञानिक व्यवस्थापन भएको छैन । यसको मूल जड असन्तुलित विकास हो ।
सरकारले काठमाडौँ उपत्यकामा हुने बसाइँसराइलाई बाढीझैँ खोलेको कारण यहाँ प्रदूषण बढेको हो । यो प्रदूषण र फोहरमैलाको कारण महामारी फैलिएर काठमाडौँ उपत्यकावासीहरू एक चिहान हुने थप खतरा छ ।
सार्वजनिक यातायातको व्यवस्था गर्ने, निजी यातायात घटाउँदै जाने र प्रधानमन्त्री र मन्त्रीहरू आ–आफ्नो जिल्लामा स्थायी बसोबास गर्ने कानुनी व्यवस्था भए भ्रष्टाचार घट्दै आउने, राज्यको ढुकुटीमा पैसा पनि थपिने र जाँगर पनि बढ्नेछ ।
काठमाडौँ उपत्यकामा फोहरमैलाको वैज्ञानिक व्यवस्थापन भएको छैन । यसको मूल जड असन्तुलित विकास हो । सरकारले काठमाडौँ उपत्यकामा हुने बसाइँसराइलाई बाढीझैँ खोलेको कारण यहाँ प्रदूषण बढेको हो । यो प्रदूषण र फोहरमैलाको कारण महामारी फैलिएर काठमाडौँ उपत्यकावासीहरू एक चिहान हुने थप खतरा छ ।