कालीकोट, ३१ चैत । नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा आइतबार अनलाइनमार्फत देशको समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत सम्बोधन गर्दै सरकारले ८० लाखभन्दा बढी नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको कृषि उत्पादन सड्ढटमा पारेको र भारतबाट आयात हुने खाद्यान्नको लागि नेपालीको ठुलो रकम खर्च भइरहेको बताउनुभयो ।
शासक दलका नेताहरू गाउँका सोझासिधा जनताको भोट लिई सत्तामा पुगेर भ्रष्टाचार गर्ने र काठमाडौँमा घरघडेरी जोड्ने कर्तव्यच्युत काममा लागेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले वर्गीय रूपमा राजा सामन्त वर्गको हुने बताउनुभयो ।
राजा भएको बेलामा पनि जनतालाई अन्याय भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताविरूद्ध तत्कालीन रापस नवराज सुवेदी, पञ्चायती प्रधानमन्त्री, मन्त्रीसमेतले झूटा मुद्दा लगाई फाँसीको माग गरी जेलनेल राखेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले, “वर्तमान पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवादी गणतन्त्र हो” भन्नुभयो ।
“नेपाली जनताले आफ्नो गाउँ, टोल आफैले सफा गर्ने हो । जनता सरकारको भरमा बस्नु हुँदैन । कम्युनिस्ट कार्यकर्ताहरूले यस्ता विषय जनतालाई राम्ररी बुझाउनु पर्छ ।” अध्यक्ष बिजुक्छेँले थप्नुभयो ।
उहाँले भन्नुभयो, “२०४६ सालको जनआन्दोलनमा नेका र एमालेले भारतीय नेता चन्द्रशेखर गुहारे र माओवादीले २०६२ सालमा भारत गुहारेजस्तै राप्रपाले आदित्यनाथ गुहार्नु नौलो कुरा होइन । माओवादीले भारतकै निर्देशनमा हतियार बोकेर देश धुजाधुजा पारेको थियो । माओवादी नेता प्रचण्डले भारतको पाँचतारे होटेलमा बसेर नेपालमा गृहयुद्ध मच्चाएका थिए ।”
“नेपालका नक्कली कम्युनिस्टहरूले आफ्नो पार्टीको नाम समाजवादी राख्नु चोरले राम्रो लुगा लाउनुजस्तै हो । एमालेका नेता मनमोहन अधिकारीले फ्रान्स भ्रमणको बेला निर्वाचनमा जनताको मत लिनको निम्ति मात्रै आफ्नो पार्टीको नाममा कम्युनिस्ट राखेको बताएका थिए ।” अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
“विद्यालयमा राम्रो शिक्षा दिनु जरूरी छ । परीक्षामा नक्कल गर्नेलगायत गलत काम विद्यार्थीलाई सिकाउनुहुन्न । विद्यार्थीहरूको स्वास्थ्य पनि बेला बेलामा जाँच गराउनुपर्दछ । पेटमा जुका परेको कारण विद्यार्थीहरू निदाउने, अल्छि मान्ने गर्छन् । शिक्षक तथा अभिभावकहरूले यस्ता विषयमा ध्यान दिनुपर्छ ।” अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
“शासक दलका नेताहरूले भनसुनको आधारमा सङ्घ र प्रदेशबाट बजेट विनियोजन गरेर कमिसन खाइरहेका छन् । यसबाट जनता सचेत हुनुपर्छ । भ्रष्ट नेताहरूलाई कालोमोसो दलेर कारबाही गर्नुपर्छ । भक्तपुरमा पनि भ्रष्टाचारीलाई जनताले उल्टो टोपी लगाएर सहर परिक्रमा गराएका थिए । अन्यायको विरोध गर्न जनता डराउनु हुन्न ।” अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
“हाम्रो समाजमा लैङ्गिक र जातीय विभेदको समस्या पनि छ । कम्युनिस्ट कार्यकर्ताहरूले यस्ता विभेदविरूद्ध सङ्घर्ष गर्नु जरूरी छ । शोषकहरूले युद्धमा हारेकाहरूलाई दास बनाए । त्यही दासहरूलाई पछि शुद्रको दर्जा दिएर शोषण गरे । मान्छे मान्छेमा दलित र तल्लो जातिको विभेद सामन्तवादको अवशेष हो ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाली जनता अर्काको मुख ताक्नुको सट्टा आफ्नै खुट्टामा उभिनुपर्ने बताउँदै कार्यकर्ताहरू देशको सार्वभौमिकता रक्षार्थ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालबालिकालाई चाउचाउ बिस्कुटजस्ता पत्रु खाना खुवाउनुभन्दा आलु, फापर, कोदोजस्ता स्थानीय उत्पादनका ताजा खानेकुरा खुवाउनुपर्छ । बालबालिका विष हालेर मारेको माछा खाएर पनि बिरामी भएका छन् । जाँड, रक्सी, चुरोट, खैनी, गुट्खाजस्ता कुलतबाट नयाँ पुस्तालाई जोगाउनु जरूरी छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरूङ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका उपाध्यक्ष नरदीप शाहीले पनि बोल्नुभएको थियो ।