भक्तपुर, ११ चैत । ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल मा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला सोमबार सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ एवं समसामयिक विषयमा जानकारी दिने उद्देश्यले भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक घटना र विचारलाई व्यापक दृष्टिकोणले हेर्नु जरूरी भएको बताउनुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्य लिएकाहरूलाई पुँजीवादी बन्दोबस्तमा सहजरूपमा काम गर्न नदिने भएकोले नै सङ्घर्षको सहारा लिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
“पुँजीवादी दृष्टिकोणका शासक पार्टीका मन्त्रीहरूबाट कामदार जनताको हित हुनेछैन । सङ्घर्षविना आमूल परिवर्तन सम्भव नहुने भएकोले क्रान्तिको आधारशीला तयारी गर्नु सच्चा देशभक्तहरूको कर्तव्य हो”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नैतिक, बौद्धिक र शारीरिकरूपमा सक्षम भएमात्र विरोधीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भएकोले हाम्रा कलेजले नयाँ पुस्तालाई हरेक क्षेत्रमा अब्बल बनाउनु जरूरी भएको उहाँले बताउनुभयो ।
समाजलाई आमूल परिवर्तनको लागि निःस्वार्थपूर्वक सेवा गर्ने नयाँ पुस्ता तयार गर्नु ख्वप कलेजहरूको उद्देश्य हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले हामीले गर्ने हरेक गतिविधि समाज र राष्ट्रको योगदानमा टेवा पुग्ने खालको हुनुपर्छ भन्नुभयो ।
समाजवाद आउन एक ऐतिहासिक युग लाग्न सक्ने भएकोले अहिलेदेखि नै गतिविधिमार्फत सङ्घर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हाम्रो गतिविधि र आचरण समाजवादी विचारधारासँग मिल्नु जरूरी छ । समाजवादी विचारधाराले तडकभडकलाई निरूत्साहित र शारीरिक श्रमलाई सम्मान गर्नुका साथै उत्पादनलाई प्राथमिकतामा राख्छ ।”
“आत्मसमीक्षा, आलोचना र आत्मालोचना जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “व्यक्तिगतभन्दा सामूहिक हितलाई प्राथमिकतामा राख्नुपर्छ† व्यक्तिवादी सोच र प्रवृत्ति त्याग्नु जरूरी छ । नैतिकरूपमा पतन हुनु ठुलो खतरा भएकोले नैतिक मूल्य–मान्यतालाई जोगाउनु जरूरी छ । खराब विचार मनमा आउनु पनि गलत हो । प्राचार्यदेखि कर्मचारीहरूले आर्थिक अनुशासनमा रही काम गरेकै कारण ख्वप कलेजहरूप्रति जनताको विश्वास बढेको हो ।”
सङ्गठनले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जिम्मेवारीबाट पन्छिने भगुवाप्रवृत्तिको आलोचना गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “समाजवादी शिक्षाको लागि ख्वप विश्वविद्यालय स्थापना गर्नु जरूरी छ । हामी नाफाको लागि होइन, परल मूल्यमा गुणस्तरीय शिक्षा दिन ख्वप विश्वविद्यालय स्थापना गछौँ । समर्थक र शुभचिन्तकहरूबाट पार्टीलाई प्राप्त सहयोगबाट पार्टीले पुस्तक र पत्रिकाहरू प्रकाशन गरी जनतालाई राजनीतिकरूपमा सचेत पार्ने काम गर्दै छ । हामीले गर्ने हरेक गतिविधिले जनतालाई निरास होइन; ऊर्जा दिइरहेको छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज/विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भनपाबाट सञ्चालित कलेजहरू जनताको कलेज भएकोले विद्यार्थीको उज्ज्वल भविष्य र अभिभावकहरूको मन जित्ने गरी शिक्षा दिनु जरूरी छ भन्नुभयो ।
हाम्रो मूल्याड्ढन आफूले भन्दा अरू पक्षबाट हुने चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाले देश र जनताको पक्षमा गरेका कामको मूल्याड्ढन अहिले बिस्तारै हुँदै छ ।”
कामदारवर्गका जनतालाई शिक्षाबाट वञ्चित गर्ने बदनियतकै कारण ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको स्पष्ट पार्दै उहाँले ख्वप विश्वविद्यालयलाई स्वीकृति दिन सरकारलाई बाध्य पार्ने परिस्थिति बनाउनेतर्फ हाम्रा कलेजहरूको गतिविधि केन्द्रित हुनु जरूरी छ भन्नुभयो ।
जनतालाई अगाडि बढ्न नदिने उद्देश्यका साथ शासक पार्टीहरूले षड्यन्त्रमूलक ढङ्गमा दुईदलीय तानाशाही ल्याउन खोज्दै छन् । निर्वाचन आयोगको हालै प्रकाशित विज्ञप्तिमार्फत मतसीमा (थ्रेसहोल्ड) का आधारमा राष्ट्रिय र प्रादेशिक पार्टीको प्रावधान ल्याउन खोज्नु प्रजातन्त्रको भावनाविपरीत छ । जनताले तिरेको करलाई प्राप्त मतको आधारमा राजनीतिक पार्टीलाई अनुदान दिने नीति राजस्व दुरूपयोग हो र अन्ततः यसले दुईदलीय तानाशाही निम्त्याउँछ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
शासक पार्टीहरू सङ्घीयतालाई कार्यान्वयन गर्न नचाहेको स्पष्ट पार्दै उहाँले सङ्घीयताको मर्मअनुसार स्थानीय तहलाई स्वायत्त बनाउनुपर्ने र विकास निर्माणका कामहरू स्थानीय तहमार्फत गराउनुपर्नेमा जोड दिनुभयो ।
सरकारको गलत शिक्षा नीतिकै कारण ५ सत्न्दा बढी कलेजहरू बन्द हुने स्थितिमा पुगेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज/विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले महिला अधिकारको लागि नभई समाज परिवर्तनको लागि समाजवादी व्यवस्था स्थापना गर्नु जरूरी भएको बताउनुभयो ।
समाजवादी व्यवस्थामा मात्र महिलाको मुक्ति सम्भव छ भन्ने यथार्थ सोभियत सङ्घ, प्रजग कोरिया र क्युवाको समाजवादी क्रान्तिले प्रमाणित गरेको उहाँले बताउनुभयो ।
महिलालाई आरक्षणभन्दा अवसर र शिक्षा दिनुपर्ने आवश्यक भएको उल्लेख गर्दै उपप्रमुख जोशीले भनपाले समाजवादी आधारशीला निर्माण गर्ने कार्यहरू गर्दै आएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले जीवनमा आइपर्ने उत्तारचढावमा संयमित भएर अघि बढ्न सकेमात्र सफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो शिक्षण पद्धतिमा युग सुहाउँदो हुने गरी हेरफेर गर्नु आवश्यक छ । सांस्कृतिक विविधताप्रति हामी सचेत हुनु जरूरी छ ।”
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे स्पष्ट पार्दै महिला दिवसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नु जरूरी भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।