भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बङ्गलादेशको पछिल्लो घटनाको निम्ति भारत नै जिम्मेवार भएको बताउनुभएको छ ।
आइतबार नेपालभाषा साहित्य तःमुंज्याले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले भारतीय सेना र नेपाली युवाहरूसमेत रहेको मुक्तिबाहिनीले पाकिस्तानलाई टुक्रा गरेर बङ्गलादेश बनाएको इतिहास प्रस्ट पार्नुभयो । उहाँले जमिन छुट्टिएको, नेताहरू पश्चिम पाकिस्तानकै मात्र भएको र पूर्वी पाकिस्तानको प्रतिव्यक्ति आम्दानी तुलनात्मक कम भएको तर्क गरेर भारतले बङ्गलादेश बनाएको उल्लेख गर्दै नेमकिपाले भारतीय हस्तक्षेपको विरोध गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले नेपालको स्थिति जटिल रहेको हुँदा नेपाली जनता सचेत नभए भारतले नेपाललाई बङ्गलादेश बनाए आश्चर्य नहुने स्पष्ट पार्नुभयो ।
चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को तयारीको क्रममा भएको साहित्यकार भेलामा अध्यक्ष रोहितले जनपक्षीय साहित्य लेखनमै जोड दिनुभयो । उहाँले साहित्यले वर्गीय चेतना दिने भएकोले बहुसङ्ख्यक जनताले बुझ्ने गरी प्रगतिशील साहित्यको रचना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य यथार्थवादी हुनुपर्छ, छायाँवादी होइन ।”
उहाँले नियमितरूपमा साहित्यिक गतिविधि गरे तःमुंज्याले सार्थकता पाउने स्पष्ट पार्नुभयो । तःमुंज्याले सुरूदेखि नै सैद्धान्तिकरूपमा साहित्यका विभिन्न विधा कथा, कविता, नाटक, ख्याल प्रहसन, गीतमार्फत जनभावनालाई उत्साहित गरिरहेको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा राजनीतिकरूपमा जनतालाई सचेत र सङ्गठित पार्नुपर्नेमा जोड दिनुभयो ।
“कविता नपढेसम्म कवि चिनिन्न र कवि नचिनेसम्म कविता बुझ्न सकिन्न”, उहाँले भन्नुभयो । कविको सैद्धान्तिक विचार नबुझेसम्म कविले कुन वर्गको प्रतिनिधित्व गर्छ बुझ्न नसक्ने उहाँको कथन छ । उहाँले देशको हरेक विषयमा युवा विद्यार्थीलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । साहित्यमा स्तरीयता ल्याउन विभिन्न चरणमा साहित्य गोष्ठी कार्यक्रम गरी आलोचना समालोचना हुनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जारले साहित्यका विविध पक्षबारे प्रशिक्षण दिँदै देशमा भएगरेका बेथितिबारे जनताले बुझ्ने गरी साहित्यमार्फत स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्यको रसले सजिलो ढङ्गमा बुझाउन सक्ने भएकोले साहित्य सरल र सरस हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सन्जय मानन्धर र रमेश प्रजापतिलगायतलले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले सोध्नुभएको प्रश्नलाई अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभएको थियो ।