भक्तपुर, २४ साउन । यो वर्ष असोज २८ र २९ गते भक्तपुरको लामुगः त्वाः मा हुने ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको ग्वसाखलः गठन भएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ र १० का स्थानीय जनताको बृहत् भेलाले स्थानीय समाजसेवी तथा पूर्वजनप्रतिनिधि कृष्णभक्त लवजुको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन भएको स्रोतले बताएको छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले काम गरी खाने जनतालाई वर्गीयरूपमा सङ्गठित गरी आफ्नो हक अधिकारको लागि सङ्घर्ष गर्ने राजनैतिक दबुको रूपमा तःमुंज्या स्थापना भएको बताउनुभयो । संसारका ठुलठुला क्रान्ति तथा परिवर्तनहरूमा जनपक्षीय साहित्यले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले नेपालको सार्वभौमिकता रक्षा र कामदार जनताको हित हुने समाजवादी व्यवस्थाको प्रचार गर्ने वर्गीय साहित्य लेखनमा जोड दिनुभयो । लामो भाषणले भन्दा छोटो र मिठो गीत, कविता, कथा, नाटकले जनताको मन छुने र समाज परिवर्तनका लागि उत्साहित हुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “जनताले बुझ्ने भाषामा लेखिएको साहित्य जनताको साहित्य हुन्छ । जनताको साहित्यले अन्याय, अत्याचार, शोषण र दमनको विरोधमा आवाज बुलन्द पार्छ । जनताको साहित्यले भ्रष्टाचार, घुसखोरी, विदेशी हस्तक्षेप र सीमा अतिक्रमणको विरोधमा जनतालाई एकजुट पार्छ । जनताको साहित्यले समाजवादी व्यवस्था स्थापनाको लागि कामदार जनतालाई एकजुट पारी सङ्घर्षको मोर्चामा उत्रन उत्साहित गर्छ ।”
भक्तपुरमा सरसफाइ, स्वास्थ्य चेतना, सम्पदा संरक्षणलगायतका सामाजिक जागरण आउनुमा तःमुंज्याको उल्लेखनीय भूमिका रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । यहाँका सम्पदाहरू यहीँका जनताले बनाएका हुन् र पुनः निर्माण तथा जीर्णोद्धार पनि यहीँका जनताले गर्न सक्षम छन् । यहाँका जनता कसैको भरमा नबसी आफ्नै क्षमता र स्रोतको उपयोग गरी सम्पदा बचाउँछन्, वरपरको वातावरण सफा राख्छन्, आफू स्वस्थ र सुरक्षित हुन्छन् । तःमुंज्या सधैँ जनताको साथमा हुन्छ र गरीब तथा कामगरी खाने जनताको हितमा आवाज उठाउँछ, उहाँले भन्नुभयो ।
पार्टी अध्यक्ष बिजुक्छेँले संरा अमेरिकी साम्राज्यवादले रुसविरुद्ध युक्रेनमा छद्मयुद्ध गरेको र इजरायलमार्फत हजारौँ सङ्ख्यामा प्यालेस्टिनी जनताको हत्या गरी प्यालेस्टिनको भूमि कब्जा गरेको विरोधमा नेपाली जनतालाई सचेत पार्न तःमुंज्यामा साहित्य प्रस्तुत हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई जनपक्षीय र प्रगतिशील साहित्य लेख्न प्रशिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले तःमुंज्याले स्थापनाकालदेखि नै तत्कालीन पञ्चायती निरङ्कुशताको विरुद्ध जनतालाई आन्दोलित गर्ने कार्य गरेको बताउनुभयो । उहाँले तःमुंज्यामा प्रस्तुत हुने साहित्य तथा सांस्कृतिक विधाहरूले सधैँभरि जनताको पीडा बोलिरहेको र देशको सार्वभौमिकता रक्षा र जनअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न उत्साहित गरिरहेको जानकारी दिनुभयो ।
तःमुंज्याका सल्लाहकार तथा जनकवि चन्द्रबहादुर उलकले शोषक र देशघातीहरूका विरुद्ध तःमुंज्या सशक्तरूपमा उभिएको चर्चा गर्दै तःमुंज्यालाई निस्तेज पार्न प्रतिक्रियावादी तत्वहरूले अनेक प्रयास गर्दा पनि जनताको साथ र सहयोगले सशक्त हुँदै आएको बताउनुभयो ।
तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले स्थानीय जनताको साथ र सहयोगमा यो वर्ष लामुगः त्वाः मा हुने तःमुंज्या भव्यताका साथ सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले तःमुंज्याप्रति जनताको विश्वास बढ्दै गएको चर्चा गर्दै उपत्यकाका तीनै जिल्ला र काभ्रेमा पनि नेपालभाषाको साहित्य सम्मेलन हुन थालेको जानकारी दिनुभयो ।
भेलामा अग्रज व्यक्तित्व ज्ञानसागर प्रजापति, कृष्णभक्त लवजू तथा युवाहरू लक्ष्मीप्रसाद चवाल र सञ्जय मानन्धरले तःमुंज्याको तयारीबारे अवगत गराउनुभयो ।