भक्तपुर, १७ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजु र नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटासमेतको टोलीले पेप्सीकोला–बोडे–टिगनी–नेपाल इन्जिनियरिङ कलेज–बुढाथोकी गाउँ–नाट्यश्वरी–तेलकोट सडकको चानपा ५, छालिङ नाट्यश्वरीदेखि तेलकोटसम्मको सडक खण्डमा भारी वर्षासँगै गएको पहिरोले पु¥याएको क्षतिबारे बिहीबार स्थलगत अध्ययन ग¥यो ।
भारी वर्षाको कारण चानपा ५, छालिङस्थित त्याटलगाउँमा सडकको आधा भाग भासिएको छ । सडक छेउमा लगाइएको रिटेनिङ वालसमेत भत्किएर त्याटल गाउँबाट कालिटार हुँदै पकुनेपाटी जाने बाटो अवरुद्ध हुनुका साथै कालिटार जाने बाटो छेउमा रहेको विश्वराम त्याटलको घर र सडकमाथिका गाउँ जोखिममा परेको छ । उक्त सडक छेउमा रहेको खोल्सामा सडक निर्माण गर्दा एउटा मात्रै ह्युमपाइप राखिएकोले ह्युमपाइपमा पानी नअटेर सडकबाट भेल बगिरहेको छ । सडक निर्माणको बेला टेवा पर्खालको जग जमिनको सतहमुनि देखि नै निर्माण गर्नुपर्नेमा सतहमाथि बाट बनाइएको र पर्खालमा सिमेन्टको मात्रा अत्यन्तै कम राखिएको पाइयो । सडक निर्माणको बेला पुरुवा माटोलाई राम्रोसँग नदबाइएको कारण सडक भत्किएको देखिन्छ ।
छालिङकै वनगाउँस्थित सानुप्रसाद वनको घर नजिक सडकको बिचमा धाँजा फाटेको छ । उक्त स्थानमा तत्काल रोकथामका उपाय नअपनाइए सडकको छेउमा राखिएको बिजुलीको पोल र टेवा पर्खाल ढलेर सडकमुनिको घरमा क्षति पुग्ने सम्भावना छ । सडकको भित्तातर्फ बनाइएको नाली पनि माटोले पुरिएर निकास बन्द भएको देखिन्छ ।
चानपा ५, छालिङ सिमचौरको पूर्वतर्फ रहेको बारीको माटो भासिनुका साथै नाली पुरिएर सडक अवरुद्ध भएको छ । सिमचौरमुनि बेली क्षेत्रीको घरनजिक सिम चौरको दक्षिणतर्फको डाँडा भासिएर बाटो अवरुद्ध भएको छ । सोही स्थानमा चानपा ५, वडा कार्यालय (साँखुमूल) आउने बाटोमुनि पनि पहिरो गई भत्किने सम्भावना रहेको छ ।
छालिङ गोकुल गाउँ नजिक मत्स्यनारायण मन्दिरमाथिको सडकको छेउ–छेउमा पनि धाँजा फाटेको देखिन्छ भने नजिकैको खोल्सामा ह्युमपाइप एउटामात्र राखिएकोले ह्युमपाइपभन्दा माथिबाट पानी बगेर सडकलाई क्षति पु¥याएको छ । खोल्सामा एउटा ह्युमपाइप थप गर्नुपर्ने देखिन्छ ।
माथिल्लो वनगाउँ दिनेश वनको घरमुनि सडकको माझमा पनि धाँजा फाटेर सडक भासिने सम्भावना छ । उक्त स्थानमा सडकको करिब २०÷३० मिटरमुनि जमिनको भाग रहेको र सडक जोगाउन मुनिबाटै २÷३ तहको टेवा पर्खाल लगाउनुपर्नेमा सो नगरिएको हुँदा सडक जोखिममा परेको स्थानीय बताउँछन् ।
छालिङ लामिछाने गाउँस्थित (साबिक छालिङ गाविस वडा नं ९) चिरञ्जीवी लामिछानेको घरनजिक रहेको सडक पनि बिचबाट धाँजा फाटेर भत्किने जोखिममा रहेको छ । स्थानीयले धाँजा फाटेको ठाउँमा प्लास्टिक ओछ्याएर सडकको सुरक्षा गरेका छन् । उक्त सडकको छेउमा गहिराइ ठुलो भए पनि टेवा पर्खाल लगाइएको छैन । टेवा पर्खाल नभएकै कारण सडक भासिएको देखियो । सडकमा नालीको साइज सानो छ भने ठाउँ–ठाउँमा माटोले पुरिएका छन् ।
स्थलगत अध्ययनको क्रममा स्थानीय जनताले सांसद सुवालसमक्ष समस्या समाधानका निम्ति देहायका उपाय सुझाए :
– त्याटल गाउँबाट कालिटार हुँदै पकुनेपाटी जाने बाटोको माटो पन्छाएर जमिनको तल्लो सतहदेखि नै बलियो जग राखेर टेवा पर्खाल निर्माण गर्नुपर्ने । सडक वारपार हुने खोल्सामा थप एउटा ह्युमपाइप राखेर निकास व्यवस्थित गर्नुपर्ने ।
– परम्परागत खोल्सामा सडकमुनि पुग्दो ह्युमपाइप राख्नुपर्ने वा सो खोल्सामा बग्ने वर्षाको पानीसमेत अट्ने गरी कलभर्ट निर्माण गर्नुपर्ने ।
– सडकको माथि र तल पार हुने गरी बगेका परम्परागत खोल्सा ठाउँ ठाउँमा थुनेर सडक बनाइएको हुँदा साबिक खोल्सा नथुनिने गरी पुग्दो ह्युमपाइप राख्ने वा कलभर्ट निर्माण गर्नुपर्ने ।
– चिरा परेका सडक मर्मत नभएसम्म ठुला गाडी सञ्चालनमा रोक लगाउनुपर्ने ।