भक्तपुर, ७ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो ।
पत्रकार समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले आफू साहित्य पढेर कम्युनिस्ट भएको उल्लेख गर्दै समाजवादी साहित्य नपढी देशमा समाजवाद स्थापना सम्भव छैन भन्नुभयो ।
साहित्य पनि देश र समाजको सम्पत्ति भएको उल्लेख गर्दै उहाँले समाजवादमा उत्पादनका साधन सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसारको ज्याला बन्दोबस्त हुने प्रकाश पार्नुभयो ।
उहाँले व्यक्तित्व भनेको राम्रो पोशाक मात्र होइन शिष्ट व्यवहार र मौलिकता पनि हो भन्नुभयो ।
पार्टी कार्यकर्ताहरू सङ्गठनमा लाग्नुपर्ने, हरेक समस्याबारे साथीहरूबिच छलफल गर्नुपर्ने, कमीकमजोरी भए आलोचना, आत्मालोचना गर्नुपर्नेमा जोड दिँदै उहाँले छलफल र भेटघाटले दिमाग सुसजित र पुनर्ताजगी हुन्छ भन्नुभयो ।
नेता तथा कार्यकर्ताले देश र जनताको निम्ति काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले एक्लै नहिँडी सङ्गठनमा लागेका भए आइपर्ने समस्या र सङ्कट समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यकर्ताहरूले स–साना कुरामा विवाद, मतभेद भयो भनेर पार्टी र सङ्गठन छोड्न नहुने स्पष्ट पार्दै उहाँले पुँजीपति दलसँग मिलेर काम गर्ने दल कसरी कम्युनिस्ट हुन्छ भनी स्पष्ट पार्नुभयो ।
वरिष्ठ इन्जिनियर रामबिन्दु श्रेष्ठले राजदास श्रेष्ठको सरल र निर्भिक स्वभावबाट सिक्नुपर्ने चर्चा गर्दै दलाल पुँजीपतिवर्गको सरकारले उहाँको अनुभव, ज्ञान र सीपलाई कदर नगरेको बताउनुभयो ।
जनकवि एवं नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार चन्द्रबहादुर उलकले इन्जिनियर श्रेष्ठ देशभक्त, जातीय स्वाभीमानप्रति प्रतिबद्ध र माक्र्सवादी सिद्धान्तमा अडिग कम्युनिस्ट समर्थक हुनुहुन्छ भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले देशका लागि बौद्धिक व्यक्तित्वहरू आवश्यक भएको चर्चा गर्दै देशको लागि आवश्यक व्यक्तिहरूलाई सरकारले उपयोग नगर्दा बौद्धिक व्यक्तिहरू विदेश पलायन हुन बाध्य भइरहेको बताउनुभयो ।
लेखक योगेन्द्रमान बिजुक्छेँले राजनीतिक कार्यकर्तामा साहित्यिक चेत आवश्यक छ र साहित्यकारहरू जनतासँग सामीप्य हुनुपर्छ भन्नुभयो ।
भपनाका उपप्रमुख रजनी जोशीले आफ्नै देशसँग भएको स्रोत र साधन उपयोग गरेर देश विकास गर्नुपर्नेमा सरकार विदेशीमुखी भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पत्रकार समाजका अध्यक्ष अनुराधा थापामगरेको सभापतित्वमा भएको सो कार्यक्रममा ‘मजदुर’ दैनिकका सम्पादक उद्धव सुजखु, प्राध्यापक सुशीलाल कर्माचार्य, नेक्राविसङ्घका उपाध्यक्ष सुरेश परियार, पत्रकार समाजका प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।