अध्यक्ष बिजुक्छेँसँग जनमत पार्टीका सीके राउतको भेटवार्ता


काठमाडौँ, १९ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले शुक्रबार भक्तपुरमा भेट गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले कार्यकर्तालाई जगैदेखि राजनीतिकरूपले शिक्षित र सचेत गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुँजीवादी क्रान्तिलगत्तै समाजवादी क्रान्तितर्फ अगाडि बढेको रूसबाट सिक्नु जरूरी भएको उल्लेख गर्नुभयो ।
नेपालका समाजवादी दाबी गरेकाहरू सरकारमा गएर निजीकरणतर्फ लागेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले बहुमत भएको दलको नेतृत्वमा सरकार गठन हुने, अर्को ठुलो दलले प्रमुख प्रतिपक्षको कर्तव्य निर्वाह गर्नुपर्नेमा सत्ता र प्रमुख विपक्षी दलबिच भागबन्डा भइरहेको हँुदा बेलायती शैलीको संसदीय व्यवस्था असफल भएको बताउनुभयो ।अध्यक्ष बिजुक्छेँसँग जनमत पार्टीका सीके राउतको भेटवार्ता
निजीकरणको पक्षमा नरहेका लिविया र इराकका नेताहरूलाई अमेरिकी साम्राज्यवादले समाप्त पारेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले माक्र्सवादले मानव जातिको सभ्यता पहिचानलाई विरोध नगरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले २०१५ सालको आम चुनावमा अहिलेको राप्रपाजस्तो गोरखा परिषद्ले पनि ‘शोषणविहीन समाज’को नारा दिएको उल्लेख गर्दै नाम र नाराले मात्र पार्टीलाई चिन्नु गलत हुने, कामले नै चिन्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पार्टी प्रकाशनहरू प्रदान गर्नुभएको थियो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू कम्युनिस्ट शिक्षाबाट राजनीतिमा आएको उल्लेख गर्दै आफ्नो पार्टीले सामुदायिक समाजवादलाई अगाडि बढाउने बताउनुभयो ।
जनमत पार्टीका अध्यक्ष राउतले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन जितेर जनतालाई गाँस, बास र कपासको व्यवस्था गर्नु आफ्नो सामुदायिक समाजवाद हुने उल्लेख गर्दै राजतन्त्र समाप्त हुनु नै पुँजीवादी क्रान्ति नहुने बताउनुभयो ।
भेटमा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालको पनि उपस्थिति थियो ।

पार्टी गतिविधिहरु
समाचार