दैलेखी जनताका समस्याबारे नगरवासीहरूमा अपिल


जनताको प्रजातान्त्रिक सङ्घर्ष तथा बलिदानपछि देशले स्थानीय सरकारहरू प्राप्त गरेको छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहको अधिकारको सूचीमा आधारभूत एवम् माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी आदि छन् । स्थानीय तह देशका ७५३ स्थानीय पालिकाहरूमध्ये दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका (चाबिनपा) पनि एक हो । संविधानले दिएका अधिकारअनुसार चाबिनपाले जनतालाई प्रवाह गर्ने सेवाहरू चुस्त, दुरुस्त र पारदर्शी छैनन् । नगरपालिकाको काम जनता लक्षित छैन । नपाले आस्थाको आधारमा आफ्ना मानिस पोस्ने काममात्र गरेको पाइन्छ ।
किसानका समस्याहरूबारे सरकारले चासो देखाइरहेको छैन । खेतमा कहिल्यै पाइला नटेक्ने किसानले कृषि अनुदान रकम पाएका छन् । वास्तविक किसानले अनुदान पाइरहेका छैनन् । नगरको शिक्षा क्षेत्र लथालिङ्ग छ । कतिपय बाल विकास केन्द्रहरू बन्द छन् । मावि तहसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारी भए तापनि नगरपालिकाले कुनै काम गरेको छैन । स्वास्थ्य क्षेत्र त्यत्तिकै लथालिङ्ग छ । नपाको हरेक काम कारबाहीहरू अपारदर्शी, अनियमित तथा भताभुङ्ग छ । गाविस हुँदाका सेवा–सुविधाहरू समेतबाट नागरिक वञ्चित छन् । ती गैरजिम्मेवार जनप्रतिनिधिहरूप्रति नगरवासीहरू धारे हात लगाएर विरोध गरिरहेका छन् । कतिपय स्थानमा त्यस्ता गैरजिम्मेवार प्रतिनिधिमाथि हातपात भएको छ ।
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले हरेक पटकको बैठकमा आफ्ना रचनात्मक सुझावहरू राख्नुभएको छ । कतिपय गम्भीर विषयमा उहाँहरूले असहमति प्रकट गर्नुभयो । उहाँहरूले जनसरोकारका त्यस्ता विषयहरू नगरवासीसमक्ष ल्याउने काम गर्दै आएको पनि सबैसामु छर्लङ्ग छ । नगरपालिका जनताप्रति जिम्मेवार होस् भन्ने उद्देश्यका साथ नेमकिपाले नगरपालिकामा २०७९ साउन १० गते एक ज्ञापनपत्र पेस गरेको हो ।
नेमकिपाका जनप्रतिनिधिहरूले २०७९ जेठ १८ गते अर्को स्मरणपत्र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभयो । यस्ता विषयलाई गम्भीररूपले ग्रहण नगरी नगरपालिका स्वेच्छाचारी ढङ्गले अगाडि बढेको छ । नगरवासीहरू बिरामी पर्दा एम्बुलेन्स सेवासमेतबाट वञ्चित छन् । युवा, विद्यार्थी र खेलाडीहरूको नगरपालिकाप्रति कुनै भरोसा छैन । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद र सांस्कृतिक क्षेत्र अस्तव्यस्त छन् । स्थानीय सरकार कहाँ छ भन्ने जनताको प्रश्न छ ।
मजुवा खानेपानीमा करोडौँ रकम खर्च भइसके पनि योजना सम्पन्न गरिएको छैन र नगरवासीले खानेपानी पाइरहेका छैनन् । आयोजना सम्पन्न गर्न दुःख गर्ने कामदारहरूले अहिलेसम्म ज्याला पाएका छैनन् । विगतदेखि सञ्चालन भइरहेका योजनाहरूमा पुनः डीपीआरको नाममा लाखौँ रुपियाँ छुट्याइएको छ । करोडौँको कर्णाली लिफ्ट खानेपानी अलपत्र अवस्थामा छ । भत्क्यचौर नगरपार्कमा राज्यको ठुलो रकम खर्च भइसकेको अवस्थामा यसलाई व्यवस्थित गर्नुपर्नेमा नगर सरकार उदासीन छ । तसर्थ, सम्पूर्ण नगरवासीहरू सचेत होऔँ !

नेपाल मजदुर किसान पार्टी, चामुण्डा बिन्द्रासैनी नगर समिति
२०८० माघ

पार्टी गतिविधिहरु
समाचार