“देशका सबै जातजाति र भाषाभाषीको उत्थानमा राज्यले ध्यान दिनुपर्छ”


काभ्रे, ११ मङ्सिर । नेपालभाषा साहित्य तःमुंज्या भोँत (बनेपा) को आयोजनामा सोमबार भोँत लायकु डबलीमा पहिलो नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न भयो ।
‘जनता म्वासा भाषा म्वाई’ नाराका साथ भएको उक्त तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले माक्र्सवादी साहित्यले कामदार वर्गको सेवा गर्छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “देशमा भएका सबै जातजाति, भाषाभाषीको संस्कृतिको संरक्षण हुनुपर्छ, सरकारले पक्षपात गर्नु हुँदैन ।
हाम्रो देशको आर्थिक व्यवस्था सङ्कटमा परेको कुरा प्रधानमन्त्रीले नै स्वीकारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालको आयात १८–२० खर्ब हुन्छ भने निर्यात मात्र १४७ अर्बको हुन्छ, देश विकास गर्नको लागि कृषि, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ । देशको सन्तुलित विकास गर्नुपर्छ । भ्रष्टाचार निर्मूल हुनुपर्छ ।”
सचिव सुवालले भन्नुभयो, “प्यालेस्टाइनमा युद्ध विराम स्थायी गर्नुपर्छ । प्यालेस्टिनी राज्य फिर्ता दिनुपर्छ । अमेरिकाले कब्जा गरेको ग्यास र तेलको भण्डारण छोड्नुपर्छ ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हाम्रा लेखक, साहित्यकारहरूलाई हौस्याउन तःमुंज्याको ‘मुखपत्र’ प्रकाशित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो भाषा, हाम्रो संस्कृति उत्थानको लागि हामी सबैको प्रयास आवश्यक छ । सामाजिक, सांस्कृतिक, भाषिक र राजनीतिक उत्थानको लागि यो सम्मेलनले निरन्तरता दिनुपर्छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सृजना सैँजूले संरा अमेरिकाका सहयोगमा इजरायलले प्यालेस्टाइनमा विध्वंस मच्चाइरहेको र महिला, बालबालिकाको हत्या गरिरहेकोमा विरोध जनाउँदै साम्राज्यवादी अमेरिका युद्ध अपराधी भएको बताउनुभयो ।
अमेरिकाले अरब क्षेत्रको तेल र ग्यास कब्जा गर्न युद्ध गराइरहेको चर्चा गर्दै उहाँले प्यालेस्टाइनमा इजरायलले गरिरहेको नरसंहारको विश्वका न्यायप्रेमी जनताले विरोध गरिरहेका छन् भन्नुभयो ।
शिक्षाप्रेमी तथा साहित्यकार मोहन दुवालले साहित्यलाई जनस्तरमा लान तःमुंज्याले गर्दै आएको कामको प्रशंसा गर्नुभयो ।
युवाहरू विदेश गएकाले देश उजाड हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बनेपाका आदरणीय व्यक्तित्व हरिगोपाल प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक कृष्णलाल प्रजापतिले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
नेपालभाषा साहित्य तःमुंज्या भोँतका उपाध्यक्ष कृष्णकुमार वैद्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सोमकाजी शाक्य (बनेपा), गजेन्द्रबहादुर बज्राचार्य (नाला), ध्रुवकृष्ण ताम्राकार (पनौती) शमशेरबहादुर (साँगा), सिद्धिबहादुर कर्माचार्य, विजय मानन्धरलगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा चर्चा नृत्य, लाखे प्याखँ, हुला प्याखँ र तामाङ गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथि सुवालले संस्कृतिप्रेमी सत्यनारायण डंगोल र किसान सङ्घर्षका अगुवा मङ्गललाल मानन्धरलाई सम्मान गर्नुभएको थियो ।
तःमुंज्याका कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा ओमप्रसाद मानन्धर र आयोजक समितिका अध्यक्ष सत्यनारायण श्रेष्ठले पनि बोल्नुभएको थियो ।
वाचन गरिएका कवितामध्ये पहिलो प्रकाश कायष्ठ, दोस्रो ध्रुवकृष्ण ताम्राकार र तेस्रो सुनिता गाइसी हुनुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार