प्रगतिशील र क्रान्तिकारी विचारलाई समर्थन नगर्नु प्रतिगामीको पक्ष लिनु सरह


ललितपुर, २८ कार्तिक । “प्रगतिशील र क्रान्तिकारी विचारलाई समर्थन नगर्नु प्रतिगामीको पक्ष लिनु सरह हुन्छ । देश र जनताप्रति समर्पित शिक्षित, सचेत, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिलाई सबैले सम्मान गर्छन् । नयाँ वर्षमा नयाँ सन्देश दिन समाजलाई शिक्षित गरी त्यसको उत्थान गर्नु साँचो अर्थमा शुभकामना प्रदान गर्नु हो ।”
नेपालभाषा साहित्य तःमुंज्या ललितपुरको आयोजनामा सम्पन्न नेपाल संवत् ११४४ न्हू दँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त कुरा बताउनुभएको हो । इजरायलले प्यालेस्टाइनलाई विश्वको नक्साबाट मेट्ने उद्देश्यसहित क्रूर युद्ध गरी प्यालेस्टिनी जनतालाई अमानवीय व्यवहार गरी बालबालिका र महिलाहरूको समेत नरसंहार गरेकोमा नेमकिपाले विरोध गरेको उहाँले बताउनुभयो । संसारको धेरै ठाउँमा प्यालेस्टिनी जनताको समर्थनमा जनप्रदर्शनहरू भइरहेको बताउँदै उहाँले नेपालमा पनि प्यालेस्टाइनमा जस्तै भारतीय विस्तारवादले सीमा अतिक्रमणका साथै भारतीय एकाधिकार पुँजीले दुःख दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेपालमा पुँजीवादी व्यवस्थाको सरकारमा गएका भारतीय दलाल नेता र सिंहदरबारका भ्रस्ट कर्मचारीहरूले गर्दा देशमा आर्थिक सङ्कट देखिएको बताउनुभयो । भारतीय एकाधिकार पुँजीका दलाल नेताहरूले भारतको इसारामा नेपालका उद्योग कलकारखानाहरू सबै निजीकरण गरी ध्वस्त बनाई भारतको हितमा काम गरेकोले नेपाली जनताले दुःख पाएको उहाँले बताउनुभयो । पुँजीवादी सञ्चारमाध्यमले बहुसङ्ख्यक जनताको हितमा भएको कामको प्रचार गर्दैन भन्दै उहाँले भक्तपुर नगरपालिकाले गर्दै आएको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणको काममा पुँजीवादी दलाल सरकारले समपूरक र विशेष अनुदानमा समेत पक्षपात गरेको बताउनुभयो । उहाँले काम प्रचारको लागि नभई देश र जनताको सेवाका लागि गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले हरेक सांस्कृतिक गतिविधिलाई भौतिकवादी दृष्टिकोणबाट सोच्नुपर्ने र यसले जनतालाई राजनैतिकरूपबाट सचेत गर्ने कार्यक्रमको रूपमा उपयोग गनुपर्छ भन्नुभयो । उहाँले रुसी अक्टोबर समाजवादी क्रान्तिबाट संसारमा कामदार जनताले पनि शासन गर्नसक्ने प्रमाणित गर्नुका साथै समाजवादी व्यवस्थामा मात्र काम गरी खाने जनताले सुख पाउने र पुँजीवादी व्यवस्थामा भन्दा धेरै छिटो देशको विकास हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष जी. पी. लासिवाले संस्कृति मनाउँदा विकृतिलाई ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक सम्पदा संरक्षण गर्नु पनि विकास भएकोले सांस्कृतिक अतिक्रमणबारे सचेत गर्न नसकेसम्म भ्रष्टाचार र शोषण भइरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेवाः देय दबु यलका अध्यक्ष बुद्धरत्न शाक्यले नेवारहरूलाई राजनैतिक र सांस्कृतिकरूपले सचेत गर्न नसकेकोले फुट गर राज गर नीतिअनुसार जातजातिको साम्प्रदायिकतामा अलमलाउने कार्य भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका कोषाध्यक्ष रोशनमैँया सुवालले महिलाहरू शिक्षित भएमा समाजको विकासमा सहज हुने र संस्कृति जोगाउन पनि मद्दत हुने बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रमलाई देशको राजनैतिक अवस्था र संसारका काम गरी खाने जनताको पक्षमा छलफल गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोलको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेमकिपा ललितपुरका उपाध्यक्ष अशोक महर्जन, नरेश महर्जन र महन्त महर्जनले नेपाल संवत् ११४४ न्हू दँको अवसरमा भिन्तुना (शुभकामना) मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार