कला र संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य


मोरङ, ९ असोज । “सरकारको मुख नताकी आफ्नो भाषा, साहित्य र कला–संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । सिङ्गो देश विविध कला र संस्कृतिको सङ्गम हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले झी पुचः द्वारा मङ्गलबार आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
संयुक्त राष्ट्र सङ्घमा नेपालभाषाको लिपिले ठाउँ पाउनुमा नेवार समुदायको योगदान भएको चर्चा गर्दै उहाँले राज्यले विभिन्न, भाषा, साहित्य, संस्कृति र लिपिमा ध्यान दिइरहेको छैन भन्नुभयो ।
पहिले देश हार्नुमा अज्ञानता र नबुझेर पनि हो । लडाइँमा हामी हारेको भएर हामीमा हिनताबोध छ । तर, हामीले नयाँ पुस्तालाई भन्नुपर्छ– हामी हारेका होइनौँ । हामीलाई धोका दिइएको हो; विश्वासघात गरिएको हो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरूको गैरजिम्मेवारीको कारण देशमा भ्रष्टाचार बढ्यो, उद्योगधन्दा, कलकारखाना सखाप भयो, देश कमजोर भयो ।”
नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप अस्पताल खोलेर जनतालाई सस्तोमा स्वास्थ्योपचार ग¥यो । कलेजहरू सञ्चालन गरेर गुणस्तरीय शिक्षा दियो, सम्पदा र नाचगान संरक्षण ग¥यो ।”
नेवार समुदायका मानिसहरूले आफ्नो संस्कार र संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदा विश्व सम्पदा हो, यसलाई जोगाउनु हाम्रो कर्तव्य हो भन्नुभयो ।
झी पुचः का अध्यक्ष हरिबहादुर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेवा देः दबु मोरङका अध्यक्ष सुरेश श्रेष्ठले नेपालभाषा, संस्कृतिको विकासमा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा सुदर्शनले सङ्ग्रहालय निर्माण गर्ने प्रयत्न गरिरहेको बताउनुभयो भने दिनेश श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार