“नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन्”
झापा, ७ असोज । नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले नेपालको विकासमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद मुख्य बाधक रहेको बताउनुभयो । पटक–पटक नेपालमाथि नाकाबन्दी गर्ने, नेपालमा जलविद्युत् विकास गर्न नदिने, नेपाली वस्तु आयात गर्न र नेपालमा पर्यटक आउनबाट रोक्ने कार्य गरेर नेपालको आर्थिक विकासमा तगारो हालिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
अध्यक्ष रोहितले अहिले अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवादको काँधमा बन्दुक राखेर उत्तरतिर प्रहार गर्न लागिरहेको स्पष्ट पार्दै अमेरिकाको हिन्द–प्रशान्त रणनीतिसम्बन्धी सम्मेलन भारतमा आयोजना हुनु त्यसको तड्कारो प्रमाण हो भन्नुभयो ।
उहाँले रूस–युक्रेन युद्ध वास्तवमा ती दुई देशको युद्ध नभई संरा अमेरिकाको रूससितको छद्म युद्ध भएको प्रस्ट पार्नुभयो । युक्रेनका नवनाजीवादी र फासीवादीहरूलाई हतियार र डलर सहायता गरी अमेरिका र पश्चिमा साम्राज्यवादीहरूले रूसमाथि हमला गरिरहेको उहाँले बताउनुभयो ।
सङ्कीर्ण जातिवाद फासीवादमा पतन हुने स्पष्ट पार्दै उहाँले जर्मनीमा हिटलरले पवित्र आर्य रगत र श्रेष्ठ जर्मन जातिको नारा दिई नरसंहार मच्चाएको र इटालीमा मुसोलिनीले रोमको गौरव फर्काउने र क्याथोलिक धर्म फैलाउने नाममा फासीवाद लागु गरेको बताउनुभयो ।
उहाँले अहिले भारतमा हिन्दू धर्मको नाममा आरएसएस, भाजपा र नरेन्द्र मोदी नेतृत्वको सरकारले फासीवाद लादिरहेको पनि प्रस्ट पार्नुभयो ।
राष्ट्र, राष्ट्रियता, देश र राज्य भिन्ना भिन्नै अर्थ दिने शब्द भएको बताउँदै उहाँले नेपाल राज्य विभिन्न राष्ट्रियतासहितको देश भएको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र धर्मको अभिव्यक्ति नै नेपाल हो । नेपालमा रहेका विभिन्न भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन् । विविध जातजाति र भाषाभाषीको संस्कृति र सम्पदाहरू विश्व सम्पदा हुन् ।”
अध्यक्ष रोहितले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश निर्माण गर्न जरुरी भएको बताउनुभयो । सोभियत सङ्घले त्यहाँका सबै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाएझैँ यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।
उहाँले अरू जाति र वर्गको हितको निम्ति योगदान नगर्नेहरूले आफ्नै जाति र वर्गको मुक्तिका लागि योगदान गर्न नसक्ने बताउनुभयो ।
अध्यक्ष रोहितले नेपाली जनतालाई अल्पमतमा पार्ने नियतले ल्याएको नागरिकता ऐन पारित हुनु र लागु हुनु देश र जनताको निम्ति विडम्बना हो भन्नुभयो ।
सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किरातीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठूला दल र सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेता किराँतीले देशमा राजनीतिक परिवर्तन ल्याउनको लागि भएका आन्दोलन र सङ्घर्षहरूमा सबै जातजाति र भाषाभाषीका जनताले बलिदान र योगदान गरेको तर ती जनताले अधिकार प्राप्त भएको अनुभव गर्न सकेका छैनन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैजूले पुस्तकहरूबारे चर्चा गर्दै नेपाल पनि साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेपले गिजोलिँदै गएको बताउनुभयो ।
नेमकिपा प्रदेश नं १ का संयोजक उकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूले पुस्तकको समीक्षा गर्नुभएको थियो भने देशभक्त समाजवादी मोर्चाका अशोक राईले धन्यवादज्ञापन गर्नुभएको थियो ।