पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति नेक्राविसङ्घको विरोध


काठमाडौँ, १८ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
सङ्घका अध्यक्ष प्रकाश गुरुङको नाउँमा प्रकाशित विज्ञप्तिमा भनिएको छ –

माओवादी केन्द्रको पुष्पकमल दाहालको सरकारले २०८० भदौ १५ गते शुक्रबार बिहानबाट लागु हुने गरी पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल÷मट्टीतेल र एल. पी. ग्याँस) मा गरेको मूल्यवृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ विरोध एवम् भत्र्सना गर्दछ । यो मूल्यवृद्धिमा सत्ता गठबन्धनका सबै शासक दलहरू दोषी छन् ।
यो मूल्यवृद्धि तत्काल फिर्ता गरी निगमभित्र हुने भ्रष्टाचार र कमिसन अन्त्य गर्न तथा नेपाल आयल निगमका भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्न नेक्राविसङ्घ जोड दिन्छ ।
दाहाल सरकारले पेट्रोलमा रु. ४, डिजेलमा रु. ३ तथा ग्याँसमा प्रतिसिलिन्डर रु. २३५ मूल्यवृद्धि गरेको भारतीय एकाधिकार पुँजीको सेवा नै हो । सरकारले जलविद्युत् उत्पादन गरी पेट्रोलियम पदार्थ खरिद र व्यापारघाटा घटाउनु जरुरी छ ।
आफ्नो पछिल्लो भारत भ्रमणमा प्रम दाहालले फुकोट कर्णाली जलविद्युत् भारतीय एकाधिकार पुँजीलाई दिए । अघिल्ला सरकारहरूले कोसी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरूण तेस्रो, अरूण चौथो, तल्लो अरूण भारतीय एकाधिकार पुँजीलाई दिए । यसकारण, देशघाती सरकारले दिएको नेपालको जलविद्युत् फिर्ता गराउन र भर्खरै गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गराउन सम्पूर्ण नेपाली जनता एकजुट भएर उठ्नु जरुरी छ ।

पार्टी गतिविधिहरु
समाचार