जनता र नेतृत्व क्रान्तिकारी भए देश सही हुने


भक्तपुर, १८ भदौ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डल नेपालको आयोजनामा सोमबार एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रजग कोरियाको आजको स्थिरता र विकासमा त्यहाँको सिद्धान्तनिष्ठ र जनताप्रति प्रतिबद्ध पार्टी नेतृत्व मुख्य कारण रहेको बताउनुभयो ।
संसारका कामदार जनता परिश्रमी र इमानदार हुन्छन् तर सही नेतृत्व नपाउँदा गन्तव्यमा पुग्न नसक्ने चर्चा गर्दै उहाँले नेतृत्व चयनको प्रश्न कुनै पनि राजनीतिक आन्दोलनको भविष्यसित जोडिएको हुने स्पष्ट पार्नुभयो ।
देश ठुलो र सानो हुँदैमा सही र क्रान्तिकारी हुने होइन बरु त्यहाँका जनता र नेतृत्व क्रान्तिकारी छन् कि छैनन्, त्यसले निर्धारण गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले प्रजग कोरियाबाट हामीले आफ्नै खुट्टामा उभिने र अरूको भर पर्न नहुने शिक्षा लिनुपर्ने बताउनुभयो ।
नेमकिपाका सचिव एवं कोरिया पुनःएकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले विश्व कम्युनिस्ट आन्दोलनलाई कोरियाली मजदुर पार्टीले बाटो देखाउने कार्य गर्दै आएको बताउँदै संरा अमेरिकालगायत विश्वका साम्राज्यवादी शक्तिहरूले प्रजग कोरियामाथि सात दसकदेखि नाकाबन्दी लगाउँदै आएको स्पष्ट पार्नुभयो ।
संरा अमेरिका, दक्षिण कोरिया र जापान मिलेर संयुक्त सैन्य अभ्यासका नाममा प्रजग कोरियाविरुद्ध उत्तेजक युद्धअभ्यास निरन्तर चालु राखेको बताउँदै उहाँले त्यसले कोरियाली प्रायःद्वीपमा सधैं युद्धको तनाव कायम रहने गरेको प्रस्ट पार्नुभयो ।
दुवै भागका कोरियाली जनताको आकाङ्क्षा कोरियाको शान्तिपूर्ण एकीकरण र कोरिया एक भएको देख्नु रहेको उल्लेख गर्दै सचिव सुवालले अमेरिकी साम्राज्यवादले मात्र त्यसलाई रोकिराखेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपालका निम्ति प्रजग कोरियाका राजदूत जो योङ मानले प्रजग कोरियाको स्थापना कोरियाली इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउँदै प्रजग कोरियाको स्थापना अत्मनिर्भरता र आत्मरक्षामा आधारित जुछे विचारधाराको सुरुआतबिन्दु भएको बताउनुभयो ।
शासन गर्ने माध्यम र रूप परिवर्तन गरे पनि साम्राज्यवादीहरुको चरित्र कहिल्यै परिवर्तन नहुने बताउँदै उहाँले साम्राज्यवादको विरुद्धमा लड्न नेतृत्ववरपर गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति किम इल सङ र नेता किम जङ इलले आमजनताको साथमा कोरियाली सार्वभौमिकताको रक्षा र समाजवादी निर्माणको कुशल नेतृत्व गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमको सभापतित्व कोरिया पुनःएकीकरण सहयोग सिमितिका अध्यक्ष तथा नेमकिपा केन्द्रीय सचिव प्रेम सुवालले गर्नुभएको थियो भने कार्यक्रममा राजेन्द्र चवाल, सुरेश परियार रप्रेमजन थापाले पनि बोल्नुभएको थियो ।
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना ७५ वर्ष अघि सन् १९४८ को सेप्टेम्बर ९ का दिन भएको थियो । स्थापना दिवसलाई प्रजग कोरियामा राष्ट्रिय पर्वको रूपमा सैनिक परेडसहित उल्लासपूर्वक मनाइन्छ ।

पार्टी गतिविधिहरु
समाचार