अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजयप्रसादद्वारा भेट


भक्तपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवादविरोधी लेखक तथा पत्रकार विजयप्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीवीहरूको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गर्यो ।
भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि हो भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू निरन्तर जनताको निःस्वार्थ सेवामा समर्पित रहेको बताउँदै उहाँले नेमकिपाले कार्यकर्ताहरूको वैचारिक प्रशिक्षणमा जोड दिइरहेको बताउनुभयो ।
पुँजीपतिवर्गको तुलनामा कामदारवर्गसँग राज्यसत्ता चलाउने राजनीतिक र कूटनीतिक अनुभवको कमी भएको कारणले समाजवादी देशहरूमा पनि पुँजीवाद पुनस्र्थापनाको सम्भावना रहने बताउँदै उहाँले यसबारे कम्युनिस्ट कार्यकर्ताहरू निरन्तर सचेत रहनुपर्ने बताउनुभयो ।
भेटघाटमा लेखक विजयप्रसादले वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्धारण हुने उल्लेख गर्दैै कम्युनिस्ट पार्टीहरू सधैँ जनतासँग जोडिएर रहनुपर्ने बताउनुभयो । विभिन्न देशहरूको समाजवादी आन्दोलनबाट सिक्नुपर्ने बताउँदै उहाँले भौतिक परिवर्तनमा मात्रै जोड दिएर वैचारिक आन्दोलन र जनताको राजनीतिक प्रशिक्षणलाई महत्वमा नराख्दा धेरै देशका कम्युनिस्ट पार्टीहरू असफल भएको उदाहरण दिनुभयो ।
भेटमा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरू सुधनवा देसपाण्डे, पी. अम्बेडकर, बिनुथा, रोजा प्रसाद र नेपाली मित्र प्रमेश पोखरेलको सहभागिता थियो । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व र राजेन्द्र चवाल पनि भेटघाटमा उपस्थित हुनुहुन्थ्यो ।
भेटघाटअघि टोलीलाई भक्तपुरको खौमास्थित लाय्कुमा भक्तपुर नगरपालिकाका प्रमुख मेयर सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । त्यस्तै टोलीले लायकु र टौमढी क्षेत्रका ऐतिहासिक सम्पदाहरू अवलोकन गर्नुका साथै नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र स्थानीय भक्तपुर बचतद्वारा सञ्चालित आदर निकेतनको पनि अवलोकन गरेको थियो ।
साम्राज्यवाद तथा उपनिवेशवादको विरोधमा क्युवा र ल्याटिन अमेरिकी जनताको सङ्घर्षको विषयमा लेखक विजयप्रसादले निरन्तर कलम चलाउँदै आउनुभएको छ । पत्रकार, राजनीतिक विश्लेषक, इतिहासकार, साम्राज्यवाद र उपनिवेशवादविरोधी माक्र्सवादी बुद्धिजीवीको रूपमा अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलनमा परिचित लेखक विजयप्रसाद भारतीय कम्युनिस्ट पार्टी
(माक्र्सवादी) निकट प्रकाशन संस्था ‘लेफ्टवर्ड बुक्स’ का प्रधानसम्पादक पनि हुनुहुन्छ । इराक, अफगानिस्तान, लिबिया र सिरियामा अमेरिकी साम्राज्यवादी आक्रमण, भारतको दलित समुदाय, हिन्दुत्व, प्यालेस्टाइन, अरब आन्दोलन, दक्षिणी गोलाद्र्ध, रसियाली अक्टोबर क्रान्ति, जलवायु परिवर्तन, तेस्रो विश्वमा समाजवादी आन्दोलन आदि विभिन्न विषयमा उहाँका दुई दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । उहाँले क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको पक्षमा लेख्दै आउनुका साथै ऐक्यबद्धता आन्दोलनमा सहयोग पु¥याउँदै आउनुभएको छ ।

​​​​​​​

पार्टी गतिविधिहरु
समाचार