‘समाज विकासको एक झलक’ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम


भक्तपुर, ३० जेठ । स्रष्टा समाज नेपालले वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तक मङ्गलबार सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमको आयोजना ग¥यो ।
समाज परिवर्तनको निम्ति राजनीतिक कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले प्रकाशित उक्त पुस्तकको एक विशेष समारोहबिच माक्र्सवादी साहित्यकार एवम् स्रष्टा नारायणमान बिजुक्छेँ (रोहित), वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र इतिहासविद् विश्वमोहन जोशीले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभयो ।
उक्त कार्यक्रममा पुस्तकका लेखक एवम् स्रष्टा नारायणमान बिजुक्छेँ (रोहित) ले बौद्धिकरूपले पछि परेका किसानहरूलाई जागरुक बनाउन र उनीहरूमा राजनीतिक र समाजवादी शिक्षा दिन पुस्तक प्रकाशन गरेको विचार व्यक्त गर्नुभयो ।
किसान आन्दोलन पछि परेसम्म समाजवादी आन्दोलन पनि पछि पर्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रा प्राध्यापक र बुद्धिजीवीहरूले क्रान्ति गरेपछि सुख हुन्छ भन्ने कुरा जनतालाई बुझाउन नसक्दा या नबुझाउँदा समाज पछि परेको हो ।”
देशका व्यापक जनता राजनीतिक, सैद्धान्तिक र सांस्कृतिकरूपमा सचेत र सङ्गठित नहुनुमा पढेलेखेका व्यक्तिहरू नै जिम्मेवार रहेको चर्चा गर्दै उहाँले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको पक्षमा आन्दोलन गर्ने, आन्दोलनको नेतृत्व गर्ने र जनताको आन्दोलनलाई साथ दिने नेता तथा व्यक्तित्वहरूको जीवनी पढेर शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहीको समर्थन र गलतको विरोध गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “पार्टी सङ्गठनमा लागेर र देश विदेशका स्वतन्त्रताप्रेमीहरूको जीवनी अध्ययन गरेर धेरै कुरा थाहा हुन्छ । नेताहरूको कमीकमजोरी औँल्याएर जनतालाई सचेत सङ्गठित गरेको भए सोभियत सङ्घमा पुँजीवादको पुनः स्थापना हुने थिएन ।”
“देश र जनताप्रति समर्पित भएर असल र इमानदारीपूर्वक काम गरेमात्र देश रहन्छ”, उहाँले भन्नुभयो ।
“देशलाई आत्मनिर्भर बनाउनु छ भने शासकहरू विदेशी शक्ति राष्ट्रको अगाडि झुक्नुहुँदैन, सङ्घर्ष गरेर नै विजयमा टुङ्गिन्छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले समानताको संसार बनाउन देशमा समाजवाद अपरिहार्य भएको बताउनुभयो ।
समाजवाद स्थापना नभएसम्म देशमा असमानता र पक्षपात भइरहने उल्लेख गर्दै उहाँले दास र काला मानिसहरू नभएका भए अमेरिका आजको अमेरिका हुनेछैन भन्नुभयो ।
समाजमा दासता अन्त्य नभएको हुँदा अझै सङ्घर्षको आवश्यकता छ, समाजवाद समानताको बाटोे हो, संसारले समानता नपाएसम्म जनताले सुख पाउने छैनन्, उहाँले भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष एवम् सभाका सभापति लक्ष्मणराज जोशीले समाज परिवर्तनको निम्ति देश विदेशका ग्रन्थहरू अध्ययन गर्नुपर्नेमा जोड दिँदै सुसंस्कृत समाज निर्माण गर्न समाज परिवर्तन चाहनेहरूको सङ्ख्या बढिरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “इतिहासलाई वैज्ञानिक आँखाले केलाएर नियन्त्रित र सङ्गठित प्रयत्न गरेमात्र समाजले फड्को मार्न सक्छ, समाज विकासको एक झलक राजनीतिक कार्यकर्ताहरूको निम्ति यो ग्रन्थ दिशाबोध गर्नेमा दुईमत छैन ।
उहाँले भन्नुभयो, “सुसंस्कृत र आदर्शाेन्मुख समाज स्थापना गर्न सङ्घर्ष नगरी सम्भव छैन । औद्योगिक क्रान्तिपछि मजदुर वर्गको दयनीय अवस्था, त्यसप्रतिको असन्तोषबाट जन्मेको मजदुर आन्दोलन तथा समाजवादी चिन्तनको धारामा गएर पुस्तक टुङ्गिएको छ । का. रोहितको पुस्तक विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूको अघिल्लो माग मान्न सकिन्छ, यो पुस्तक । पुस्तकले पाठकलाई हाम्रो सामाजिक वस्तुस्थिति बुझ्न यस विषयमा थप अध्ययन गर्न र वर्गसङ्घर्षलाई आत्मसात गर्न सहयोग पु¥याउनेछ ।
इतिहासविद् विश्वमोहन जोशीले दास समाज, सामन्ती समाज र पुँजीवादी समाजको विकासको विस्तृत चर्चा गर्दै संसारका निर्माताहरू श्रमजीवी वर्गका जनता नै हुन् भन्नुभयो ।
राजतन्त्र र सामन्त एक अर्कामा निर्भर हुने चर्चा गर्दै उहाँले हरेक विषयमा एकले अर्काेलाई सिकाउने, सिक्ने, बुझ्ने बुझाउने काम भए सङ्घर्ष र आन्दोलन सफलताको नजिक पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक मान्छेले आफ्नो धरातल कहिले पनि बिर्सन नहुने उल्लेख गर्दै उहाँले दास र नोकरमा भिन्नता छ, दासहरू राज्य र जनताका नोकर हुन्, शासकहरू होइनन् भन्नुभयो ।
पूर्वशिक्षक योगेन्द्रमान बिजुक्छेँले राजनीतिक कार्यकर्तालाई प्रशिक्षण गर्न मानव समाजको विकास अध्ययन नगरी हुन्न भन्नुभयो ।
उहाँले ‘समाज विकासको एक झलक’ पुस्तक इतिहासमा होइन यो दर्शन, अर्थशास्त्र, राजनीति शास्त्र, मानव शास्त्रको एउटा पुञ्ज पनि हो भन्नुभयो ।
संसारका शोषित पीडित जनताको पक्षमा गहन अध्ययन गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै पुस्तक राजनीतिक कार्यकर्ताको लागि राम्रो पठन सामग्री हो, पुस्तक अध्ययन गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा स्रष्टा समाजका सदस्य सृजना सैजुले, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सङ्क्षिप्त चर्चा गर्नुभयो भने स्रष्टा समाजका सदस्य सुशिला कर्माचार्यले स्वागत र अर्का सदस्य सुरेश परियार र प्रकाश गुरुङले पनि पुस्तकबारे चर्चा गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार