भक्तपुर, ११ फागुन । संसद्को मुख्य काम र केन्द्र प्रधानमन्त्री होइन बरु आवश्यक नीति र ऐनहरूको निर्माण हो । राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने हो । उक्त विचार नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम सुवालले सोमबार लिबाली चोकमा आयोजित सभामा व्यक्त गर्नुभएको हो ।
नेमकिपा नगर निर्वाचन परिचालन समितिको आयोजनामा भएको सो सभामा सचिव सुवालले संसद्लाई जनताको पिर मर्का हेर्ने, देशको रक्षा गर्ने देशभक्तहरूको जीवन्त सदन बनाउनु आवश्यक छ भन्नुभयो ।
जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नु आवश्यक रहेको स्पष्ट पार्दै उहाँले आमा र बुबा वंशजको नेपाली नागरिकका छोराछोरीमात्र वंशज नेपाली नागरिक हुने कानुनी व्यवस्था जरुरी छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “यो चुनावी सभा पनि एक बृहत् राजनीतिक कक्षा हो । राजनीतिक दलको सिद्धान्त र विचार राम्ररी बुझेर मात्र मतदान गर्नुपर्छ । नयाँ पुस्ताको पार्टी भनेकै नेमकिपा हो । संसद् देशभक्तहरूको ठाउँ हुनुपर्छ । नेमकिपाले निर्वाचनलाई सधैँ दलहरूको घोषणापत्रको सैद्धान्तिक सङ्घर्षको रुपमा लिँदै आएको छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले शासक दलहरूले देशका नदीनाला, कलकारखाना बेचेर देशलाई पराधीन बनाइरहेको उल्लेख गर्दै हरेक मतदाताको अमूल्य भोट विचार गरेर मात्र दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले देशद्रोहीलाई होइन देशभक्तलाई जिताउनुपर्छ ।”
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गङ्गाराम ज्याख्वले नेमकिपाका अग्रजहरूले गरेको योगदान खरे नगएको उल्लेख गर्दै नेक्राकिसङ्घले स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको उक्त सभामा जितेन्द्र खायमली, सुजी ह्योंगोजु र सगुन धन्छाले पनि बोल्नुभएको थियो ।