काठमाडौँ, १३ पुस । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगको कार्यालय, काठमाडौँमा दर्ता ग¥यो । आयोगका अनुसार नेमकिपा बन्दसूची दर्ता गर्ने पहिलो पार्टी हो ।
बन्दसूची दर्ताको लागि पार्टीका सचिव प्रेम सुवाल, केन्द्रीय सदस्यहरू सुनिल प्रजापति, नारायण महर्जन, राजवीर डंगोल, न्हुछेमाया सुवाललगायत आयोगमा पुग्नुभएको थियो । नेमकिपाले देशभरिका मुस्लिम, थारु, दलित, मधेसी, आदिवासी जनजाति र खसआर्यसहित ६ समूहमा आवश्यक ११० जनाको उम्मेदवार संलग्न गरेको छ ।
आयोगले नेमकिपालाई बन्दसूची जाँचबुझको लागि पुस १७ गते समय दिएको छ । अन्य केही पार्टी पनि दर्ताको लागि आयोग पुगेका थिए ।
आयोगले बन्दसूची छानबिन गरी सच्याउन पुस १५ गतेदेखि २० गतेसम्म सूचना दिने र सो सूचनाअनुसार दलहरूले पुस २१ गतेदेखि २७ सम्म संशोधित बन्दसूची पेस गर्नेछन् ।
पुस २८ गते एकदिन उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइनेछ । आयोगले पुस २९ गते रिक्त उम्मेदवारबारे सम्बन्धित दललाई जानकारी दिनेछ । पुस ३० गतेदेखि माघ २ सम्म रिक्त स्थानमा मनोनयन गर्न दललाई समय दिइनेछ । आयोगले माघ ४ गते बन्दसूचीको नामावली प्रकाशन गर्नेछ । माघ ५ गतेदेखि १० गतेसम्म दाबी विरोधको समय हुनेछ । आयोगले माघ ११ देखि १७ सम्म दाबी विरोधमा जाँचबुझ र निर्णय गरिनेछ । आयोगले माघ २० गते बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
माघ ६ गते प्रत्यक्ष निर्वाचनको उम्मेदवारी सम्बन्धित निर्वाचन क्षेत्रको कार्यालयमा दर्ता गर्ने कार्यतालिका राखिएको छ ।