पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन


भक्तपुर, ११ कार्तिक । “पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन । आर्थिक गतिविधिमा सरकारको हस्तक्षेप कम हुन्छ । उद्योग, कलकारखाना, यातायात, व्यापार, निजी क्षेत्रलाई दिनुपर्ने वकालत गर्छ – पुँजीवादी गणतन्त्रमा । यसले सर्वसाधारण जनतालाई दुःख हुने र पैसा हुने पुँजीपति वर्गलाई फाइदा हुन्छ । अत्यन्त बहुमत जनता दुःखमा बाँच्नुपर्ने हुन्छ । हाल नेपालको प्रजातन्त्र पुँजीवादी गणतन्त्र हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर जिल्लाबाट प्रतिनिधिसभा, प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्नुभएका पार्टी कार्यकर्ताहरूको शुक्रबार भएको भेलामा व्यक्त गर्नुभएको हो ।
उहाँले समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू समाजको हुने, काम गर्ने सबैलाई तालिम दिने, योग्यताअनुसारको काम पाउने र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, अशक्त, अनाथ, सबैलाई सरकारले हेर्ने, ज्येष्ठ नागरिकको लागि आदर निकेतनको बन्दोबस्त सरकारले वा सरकारी संस्था (समाज) ले गर्ने व्यवस्था सोभियत सङ्घले व्यवहारमा देखाइसकेको स्पष्ट पार्नुभयो ।
साम्यवादी समाजमा योग्यताअनुसार काम र आवश्यकताअनुसार वस्तु र सेवा प्रदान गर्छ । उत्पादनका साधनहरू सबै सामाजिकीकरण भइसक्ने हुनाले त्यहाँ वर्गविहीन समाज हुनेछ । कृषि, उद्योग, सबै यान्त्रीकरण भइसक्ने भएकोले त्यहाँ किसान र मजदुरको भेद हट्छ । सबै शिक्षित हुने हुनाले शारीरिक र मानसिक काम समान हुन्छ । श्रम गर्ने भन्ने कुरो इज्जत ठान्दछ, कामचोर, ठगी, भ्रष्टाचार आदि अनैतिकताको गन्ध हुँदैन । गाउँ र सहरको भेद अन्त्य गर्न दुर्गम ठाउँहरूमा समेत सडक, यातायात, अस्पताल, विश्वविद्यालयहरूको व्यवस्था हुन्छ, अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “साम्यवादी समाजमा दबाउनुपर्ने वर्ग नहुने हुनाले वर्गविहीन हुन्छ । त्यो समाज राज्यविहीन हुन्छ, त्यसपछि आउने प्रत्येक समस्या समाधानको निम्ति हर प्रकारको उपाय खोज्ने काम हुन्छ ।”
“समाजवादी सिद्धान्त र विचार जनतामा फैलाउनकै निम्ति हामीले आउँदो चुनावलाई पनि उपयोग गर्ने हो । भेला, सभा, बैठक र अन्य प्रचार अभियान गाउँ, टोल, बस्तीहरूमा समाजवादी विचारलाई व्यवस्थितरूपमा पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।
“पुँजीवादी पार्टीहरूको एउटै उद्देश्य जनता ठग्ने नै हो । उनीहरूले आश्वासन दिएअनुसार वा घोषणापत्रअनुसार काम गरे हाम्रो देश विकासमा धेरै अगाडि पुग्ने थियो”, अध्यक्ष रोहितले भन्नुभयो ।
“चोर, डाँका, तस्कर आदि अपराधीहरूलाई शासक दलहरूले छुटाएर ल्याएजस्तै त्यस्तालाई छोड्न कुनै दबाब नदिने हुनाले नेमकिपालाई भोट किन दिने ? भनी प्रश्न उठाउनेहरू पनि नभएका होइनन् । देशघाती र जनविरोधी ऐन, कानुन, सन्धि–सम्झौता संसद् र प्रदेशसभामा पारित नगराउनको लागि आवाज उठाउन पनि नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुपर्ने विषय जनताको माझमा पु¥याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
डाँकाहरूको टोलीले डकैटी गर्दा बाँडफाँड गरेजस्तै गठबन्धन सरकारले कमिसन बाँडी खाने, पालैपालो भ्रष्टाचार र अनियमित काम गर्नेबारे औषधि विभाग, शिक्षा मन्त्रालय आदि ठाउँको उदाहरण अध्यक्ष रोहितले दिनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थिति केलाउँदै नाटोलाई अगाडि राखेर कम्युनिस्टहरू पस्ने भयो भनी यूरोपीय मुलुकहरूलाई तर्साउने, अमेरिकाको हातहतियार बेच्न विभिन्न मुलुकहरूबिच झैझगडा लगाउने, एसियाली मुलुकहरूमा समेत युद्ध थोपर्न युक्रेन युद्धको सुरूआत अमेरिकाले नै गराएको उहाँले स्पष्ट पार्नुभयो ।
युक्रेन युद्धले नेपाललाई पनि प्रतिकूल प्रभाव पार्ने हुनाले असंलग्न परराष्ट्र नीतिविपरीत लागेका शासक दललाई विरोध गर्नुपर्ने र यस विषयलाई जनतामाझ सरल ढङ्गले प्रस्ट्याउनुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
भेलामा नेमकिपाका सचिव प्रेम सुवालले पार्टीको तर्फबाट उठाएका उम्मेदवारहरूको विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले उम्मेदवार बनेका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिताबारे आफ्नो प्रतिनिधि र स्वयंसेवकहरूलाई प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार